ओली पासाङकै पक्षमा, नेपाल विपक्षमा


काठमाडौं । एमाओवादीको प्रमुख सहयोगमा प्रधानमन्त्री र राष्ट्रपति जस्ता प्रमुख पद हात पारे पनि एमालेले उपराष्ट्रपति एमाओवादीका नन्दकिसोर पुन ‘पासाङ’लाई दिन आनाकानी गरेको छ ।

राष्ट्रपति चयन नहुँदासम्म पासाङलाई दिने चर्चामाथि एमाले नबोले पनि विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि समावेशीताको नाममा एमालेका केही नेताले अर्घेलो थाप्ने काम गरेका हुन् ।

मधेसी वा थारु समुदायबाट उठाउँदा राम्रो हुन्छ भन्दै यस्तो प्रस्ताव आएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘ओनसरी घर्तीलाई रुचाउने अनि पासाङलाई नरुचाउने भन्ने होइन’ ज्ञवालीले भने, ‘उपराष्ट्रपतिको कोटा एमाओवादीकै हो । सन्तुलन मिलाउनका लागि मधेसी वा थारु समुदायको हुँदा राम्रो हुन्छ भनेका हौं । यसका लागि मधेसी वा थारु समुदायबाट अघि सार्दिए हुन्थ्यो भन्नेमात्र हो ।’

तर, एमालेमा केपी ओली पक्षले पासाङलाई उठाउँदा ठीक भएको बताए पनि माधव नेपाल पक्ष भने पासाङलाई अघि सार्न नहुने पक्षमा छ । सत्ता सहयोगी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, माले, नेकपा संयुक्त जस्ता साना दलको पनि माग भन्दै साना दलबाट दाबी भन्दै पासाङलाई हुन नदिने खेल भएको हो । सोही खेलपछि उच्चस्तरीय राजनीतिक समन्वय समितिमा पनि उपराष्ट्रपतिबारे कुनै टुंगो लाग्न नसकेको हो । आज बिहान पुनः बैठक बसी टुंगो लगाएर १० बजेपछि उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

कांग्रेसले सांसद अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरिसकेको छ । आज उम्मेदवारी दर्ता र भोलि उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । पूर्व जनमुक्ति सेनाका कमाण्डर रहेको भन्दै केही स्वार्थ समूहको दबामा नेपाली सेनाले नमानेको चर्चा गर्दै पासाङलाई उम्मेदवार बनाउन नहुने पहल भएको थियो । तर, एमाओवादीले पासाङलाई नै उम्मदेवार बनाउने घोषणा गरिसकेको छ । यो तयारीबाट एमाओवादी पछाडि फर्कने अवस्था छैन । एमाओवादीले बरु पराजय स्वीकार्ने त पासाङको उम्मेदवारी फिर्ता नलिने सोच बनाएको एमाओवादी एक नेताले बताए । बिहान बसेको स्थायी समिति बैठकले पासाङलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तर एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा केही साना दल लगायत पूर्व सेनापति रुक्माङगत कटवाल समेत उपराष्ट्रपतिमा पासाङलाई रोक्ने खेलमा लागेका छन् । सकेसम्म उम्मेदवारी नै रोक्ने नसके पराजित गर्नेसम्मको योजनामा नेपाल लागेका छन् ।

संविधान जारी गर्ने समयमा समेत एमाले नेता नेपाल सुसुप्तरुपमा संविधान रोक्ने खेलमा लागेका थिए । अहिले उनै पासाङलाई उपराष्ट्रपति हुन नदिने भुमिकामा छन् । उनलाई भारतीय एजेण्डाहरुले समेत साथ दिएको चर्चा छ । नेपाल भ्रमणमा रहेका भाजपा नेता जोलीले प्रधानमन्त्री ओलीलाईसमेत पासाङकोबारेमा सोधेका थिए । ओलीले यो आफ्नो आन्तरिक मामला भएको र आफै सुल्झाउने बताएपछि जोली मौन बसेको स्रोत बताउँछ ।

तलको बक्समा क्लिक गरिदिनहुन अनुरोध गर्दछौ

0 comments: